Logo
गैर आवासीय नेपाली संघ हङकङ राष्ट्रिय समन्वय परिषद्

香 港 尼 泊 爾 僑 民 協 會 全 國 協 調 委 員 會

Non-Resident Nepalese Association Hong Kong NCC

निःशुल्क एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान

गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association – NRNA) स्थापना कालदेखि नै विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई एकताबद्ध गर्दै निरन्तर रूपमा परोपकारी तथा समाजसेवामूलक कार्यहरू गर्दै आइरहेको छ। “नेपालीका लागि नेपाली” भन्ने मूल भावनालाई आत्मसात गर्दै, संघले नेपाल र नेपालीको हितका लागि शिक्षा, स्वास्थ्य, आपतकालीन राहत, सीप विकास, लगानी प्रवर्द्धन तथा सामाजिक उत्थानका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। NRNA को प्रमुख उद्देश्य गैरआवासीय नेपालीहरूको हकहित संरक्षण गर्नु, नेपालमा सामाजिक सेवा र विकासका कार्यमा योगदान पुर्‍याउनु तथा नेपाललाई समृद्ध राष्ट्र बनाउने अभियानमा सक्रिय साझेदार बन्नु हो। सामाजिक उत्तरदायित्व, राष्ट्रिय एकता र दिगो विकासलाई केन्द्रमा राख्दै, NRNA ले विश्वभर फैलिएका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा उपयोग गर्ने दिशामा निरन्तर प्रयास गरिरहेको छ।


यसै सन्दर्भमा, गत मार्च महिनामा थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तथा पिएनो सम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ (NRNA) र एसियन इन्टरनेशनल युनिभर्सिटी (Asian International University–AIU) बीच आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा सक्षम दुई जना नेपाली विद्यार्थीलाई निःशुल्क एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने विषयमा समझदारीपत्र (MoU) सम्पन्न भएको थियो। उक्त समझदारीअनुसार आज सोही सहकार्यलाई कार्यान्वयन गर्दै योग्य नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस छात्रवृत्ति औपचारिक रूपमा घोषणा गरिएको हो।

यस कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षा आयोगद्वारा लिइएको Common Entrance Exam (CEE) २०८२ मा उत्तीर्ण भएका, शैक्षिक रूपमा सक्षम तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूमध्ये एनआरएनए र एसियन इन्टरनेशनल युनिभर्सिटीद्वारा आयोजित एमबीबीएस छात्रवृत्ति प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ।


छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला, शुद्धोदन गाउँपालिका वडा नं. ६ निवासी भुद्दुर कोहारका नाति तथा माधव प्रसाद कोहारका छोरा २१ वर्षीय सचिन कुमार प्रजापति तथा बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १८ निवासी ईश्वरी दत्त रेग्मीकी नातिनी तथा यमुना रेग्मीकी छोरी २१ वर्षीया भावना रेग्मी रहनुभएको छ।एमबीबीएस छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, होस्टल शुल्क, भोजन शुल्क, भिसा शुल्क, बीमा शुल्क तथा नेपालबाट उज्बेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन सम्पन्न भएपछि नेपाल फर्किने हवाईजहाजको भाडा (एक पटकका लागि) एसियन इन्टरनेशनल युनिभर्सिटीले व्यहोर्ने व्यवस्था गरिएको छ। अध्ययन अवधिमा कुनै पनि परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुने र त्यसपछिका सम्पूर्ण खर्च सम्बन्धित विद्यार्थी स्वयंले व्यहोर्नुपर्नेछ। साथै, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले एसियन इन्टरनेशनल युनिभर्सिटी, उज्बेकिस्तानबाट अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले उपलब्ध गराएमा वा तोकेको स्थानमा अनिवार्य रूपमा दुई (२) वर्ष सेवा गर्नुपर्ने शर्त राखिएको छ।

Share this post