नेपाल मेडिकल काउन्सिलले ११ र १९ वैशाखमा ३६ जना चिकित्सकको चिकित्सकीय दर्ता प्रमाणपत्र खारेज गर्ने निर्णय फिर्ता लिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयमार्फत नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा नियुक्त डा. दीपेन्द्र पाण्डेले डाक्टरकै लाइसेन्स खारेज गरिने निर्णय कडा र अव्यावहारिक देखिएकाले स्थगित गरिएको बताए। ‘हामीले ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरी सोहीअनुसार सूचनासमेत प्रकाशन गर्यौँ, तर त्यो हतारमा भएको निर्णय थियो। सो बैठकमा पूर्ण सहभागिता पनि थिएन,’ उनले भने, ‘त्यसैले उल्ट्यायौँ।’

स्मरण रहोस मिति १९ बैशाख अर्थात २ मे २०२६ का दिन गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङ लिमिटेडले हङकङ स्थित रास्वपा प्रवास समन्वय परिषदका सभापति श्री झमबहादुर गुरुङलाई भेटी माननीय मन्त्री निशा मेहताको नाममा नेपाल मेडिकल काउन्सिलको निर्णय असंगत र प्रवासमा रहेका चिकित्सकहरूको नेपालमा हुनसक्ने सेवालाई बन्द गरेको भन्दै सो निर्णय उपर बिचार गरि खारेजीका लागि अनुरोध पत्र हस्तान्तरण गरेको थियो । उक्त पत्रमा भनिएको थियो;

माननीय
निशा मेहताज्यू
स्वास्थ्य
तथा जनसंख्या मन्त्रालय
नेपाल सरकार, सिंहदरबार, काठमाडौं ।
विषय: विदेशमा बसोबास गर्ने नेपाली
चिकित्सकहरूको दर्ता खारेजीसम्बन्धी नेपाल मेडिकल काउन्सिलको निर्णय पुनरावलोकन
तथा खारेजीको लागि अनुरोध
माननीय मन्त्रीज्यू,
गैर–आवासीय
नेपाली संघ, हङकङको तर्फबाट, नेपाल मेडिकल काउन्सिलले २०८१ बैशाख ११ गते प्रकाशित गरेको सूचनाप्रति
सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। उक्त सूचनामा विदेशी नागरिकता प्राप्त गरेका
नेपाली चिकित्सकहरूको दर्ता खारेज गरिएको घोषणा गरिएको छ। यस निर्णयले विश्वभर
रहेका गैर–आवासीय नेपाली समुदाय, विशेषगरी चिकित्सकीय पेशामा
संलग्न व्यक्तिहरूमा गहिरो निराशा र असन्तोष उत्पन्न गरेको छ।
गैर–आवासीय
नेपाली संघ स्थापना गर्ने उद्देश्य नै विदेशमा बसोबास गर्ने नेपालीहरूले आर्जन
गरेको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकासमा उपयोग गर्नु हो। सन् २००४ देखि हङकङमा
सक्रिय यस संघमार्फत नेपालीहरूले विभिन्न परियोजना, निजी
उद्यम, सामाजिक सेवा, सीप तथा ज्ञान
हस्तान्तरण, तथा स्वास्थ्य सेवामा नेपालमा प्रत्यक्ष योगदान
गर्दै आएका छन्।
विशेषगरी,
विदेशमा कार्यरत नेपाली चिकित्सकहरू नेपाल मेडिकल काउन्सिलमा दर्ता
भई समय–समयमा नेपाल फर्केर स्वास्थ्य शिविर सञ्चालन, विशेषज्ञ
सेवा प्रदान, तथा विपद्–आपतकालीन अवस्थाहरूमा सहयोग गर्दै
आएका छन्।
यस सन्दर्भमा,
हालै गरिएको दर्ता खारेजीको निर्णयलेः
• विदेशमा कार्यरत दक्ष
नेपाली चिकित्सकहरूको राष्ट्रप्रतिको योगदानको मार्ग अवरुद्ध गरेको छ,
• योग्य जनशक्तिलाई नेपाल फर्केर सेवा गर्ने अवसरबाट वञ्चित पारेको
छ,
• र विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्कन प्रोत्साहित गर्ने
सरकारको पहलमा नकारात्मक प्रभाव पारेको छ।
हाम्रो
बुझाइमा, नागरिकतासम्बन्धी कानुनी
प्रावधानहरूको व्याख्या र कार्यान्वयन राष्ट्रिय हित, दीर्घकालीन
मानव–स्रोत उपयोग, स्वास्थ्य क्षेत्रको आवश्यकता, तथा व्यावहारिकतामा आधारित हुन आवश्यक छ। नेपालमा विशेषज्ञ चिकित्सकको
अभाव, स्वास्थ्य सेवा विस्तारको आवश्यकता, तथा गुणस्तरीय उपचार सुनिश्चित गर्ने चुनौतीलाई दृष्टिगत गर्दा, विदेशमा कार्यरत नेपाली चिकित्सकहरू राष्ट्रका लागि अमूल्य सम्पत्ति हुन्।
अतएव,
गैर–आवासीय नेपाली संघ,
हङकङको तर्फबाट, हामी नेपाल सरकारसँग निम्न
अनुरोध गर्दछौः
विश्वभर
रहेका नेपालीहरूको सामूहिक भावना, राष्ट्रिय
हित, तथा दीर्घकालीन विकासलाई केन्द्रमा राखी नेपाल सरकारबाट
सकारात्मक, व्यावहारिक र दूरदर्शी निर्णयको अपेक्षा गर्दछौँ।
धन्यवाद।
सादर,
अध्यक्ष, जयन्ती गुरुङ (संगिता)
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङ ।

गैर-आवासीय
नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङको यस पत्रलाई रास्वपा प्रवास समन्वय
परिषदका तथा गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङका सल्लाहकार श्री
जजिन चाम्लिङ तथा सदस्य श्री गोविन्द गुरुङले माननीय मन्त्रीज्यूलाई भेटेर हङकङको
पत्रबारे बिस्तृत जानकारी दिई यघाशिघ्र कार्यान्वयनका लागि अनुरोध गर्नु भएको थियो
।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार अब संसारभरि रहेका गैरआवासीय नेपाली चिकित्सकलाई दर्ताका लागि आह्वान गरिने छ । डा. पाण्डे नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्य हुनुहुन्छ । पाण्डेलाई काउन्सिलका पूर्वरजिस्ट्रार डा. सतीशकुमार देव पदमुक्त भएपछि रिक्त रहेको रजिस्ट्रार पदको कार्यसम्पादनका लागि जिम्मेवारी दिइएको हो । अर्थोपेडिक्स विषयका विशेषज्ञ डा. पाण्डे नेपाल सरकार अन्तर्गत १० औँ तहका चिकित्सक हुनुहुन्छ । उहाँ हाल युनिभर्सिटी अफ अक्सफोर्डमा हिप केयरसम्बन्धी विद्यावारिधि (पिएचडी) अध्ययनरत हुनुहुन्छ ।
