Logo
गैर आवासीय नेपाली संघ हङकङ राष्ट्रिय समन्वय परिषद्

香 港 尼 泊 爾 僑 民 協 會 全 國 協 調 委 員 會

Non-Resident Nepalese Association Hong Kong NCC

‘Give To Gain’ अभियानसहित नेपाली महिलाको योगदानको सम्मान

हङकङमा बसोबास गर्ने नेपाली समुदायले अन्तर्राष्ट्रिय महिला दिवस २०२६ भव्य रूपमा मनाएको छ। गैर-आवासीय नेपाली संघ हङकङ (NRNA Hong Kong Ltd) को आयोजनामा ८ मार्च, आइतबार, इन्डिया क्लबमा सम्पन्न कार्यक्रममा महिलाको योगदान, अवसर र चुनौतीबारे विशेष छलफल तथा सम्मान कार्यक्रम गरिएको थियो।


कार्यक्रमको शुरुवात हङकङको राष्ट्रिय गान बजाएर गरिएको थियो। त्यसपछि नमोबुद्ध आमा बुद्ध सेन्टरकी अध्यक्ष पद्म कुमारी गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो। संचालन उपसभापतीद्वय विक्की थापा तथा आसा राईले गर्नुभएको थियो भने महिला संयोजक सबित्रा क्षेत्रीको संयोजकत्वमा कार्यक्रम अघि बढाइएको थियो।


यस अवसरमा विशेष शिक्षा आवश्यकताका बालबालिकाका लागि कार्यरत संस्था किर्ती चिल्ड्रेन सेन्टरलाई सहयोग गर्न चन्दा बाकस राखिएको थियो, जसबाट १८३० हङकङ डलर संकलन गरिएको थियो। साथै, बेनीशा गुरुङनिति गुरुङले नेपाली नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई आकर्षक बनाएका थिए।

कार्यक्रममा किर्ती चिल्ड्रेन सेन्टरकी अध्यक्ष पुष्पा गुरुङ तथा फ्रेन्च इन्टरनेशनल स्कूलका प्रिन्सिपलले पनि आफ्नो मन्तव्य दिनुभएको थियो।

मुख्य आकर्षणको रूपमा रहेको प्यानल छलफललाई दर्ता प्राप्त सामाजिक कार्यकर्ता अञ्जु घिसिङले संचालन गर्नुभएको थियो। छलफलमा तर्जुना आले मगर, सुमिक्षा गुरुङ, करिष्मा राई, चन्द्रकला राई सहभागी हुनुहुन्थ्यो। छलफलमा हङकङमा नेपाली महिलाले गरेका योगदान र सामना गरिरहेका चुनौतीहरूबारे गहन विचार विमर्श गरिएको थियो।


कार्यक्रममा हङकङमा रहेर विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका महिलाहरूलाई प्रशंसा पत्र तथा उपहारद्वारा सम्मान गरिएको थियो। सम्मानित हुने महिलाहरूमा अञ्जु घिसिङ, अरुणा राना, चन्द्रकला राई, दिलकुमारी लिम्बु, करिष्मा राई, खुशी गुरुङ, प्रमिला गुरुङ, पुष्पा गुरुङ, फूलमाया गुरुङ, दिपिका गुरुङ, पूर्णिमा शाह, सुमिक्षा गुरुङ, संगिता गुरुङ, तर्जुना आले मगर रहेका थिए।

कार्यक्रममा हङकङका सामाजिक अगुवाहरूको साथै HKFTU की Standing Committee Member Miss Charlotte Cheung, UCN का प्रोजेक्ट मेनेजर Rinzin Chodor, तथा समाजसेवी Michelle Yeung लगायतको उपस्थिति रहेको थियो।


यस वर्षको अभियान Give To Gain ले उदारता, सहयोग र अवसर सृजनाको महत्वलाई जोड दिएको छ। संस्थाको भाषणमा भनिएझैँ, जब महिलाहरूलाई अवसर दिन्छौं, उनीहरूको सफलता हाम्रो सामूहिक सफलता हुन्छ।”

अन्तर्राष्ट्रिय महिला दिवस किन मनाइन्छ भन्ने प्रसङ्गमा आयोजकहरूले स्मरण गराए—महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिको सम्मान गर्न, लैङ्गिक समानता र न्यायको मागलाई सशक्त बनाउन, भेदभाव र हिंसा विरुद्ध जागरण फैलाउन, र भविष्यका पुस्तालाई समान अवसर सुनिश्चित गर्न यो दिवस मनाइन्छ।

Share this post